हाम्रो टोली

आना स्टर यस परियोजनाका निर्देशक र मुख्य अनुवादक हुनुहुन्छ । उहाँ हवाई मानोआ विश्वविद्यालयको एसियाली अध्ययन विभाग मा सह-प्राध्यापक र दक्षिण एसियाली अध्ययन केन्द्र का निर्देशक हुनुहुन्छ । उहाँको कृति Singing Across Divides: Music and Intimate Politics in Nepal (Oxford University Press, 2017) ले एसोसिएसन फर एसियन स्टडिजबाट दक्षिण एसियासम्बन्धी पहिला पुस्तकहरूका लागि सन् २०१९ को बर्नार्ड एस. कोन पुरस्कार प्राप्त गरेको थियो । उहाँले भक्त स्याङ्तानसँग वृत्तचित्र Singing A Great Dream-The Revolutionary Songs and Life of Khusiram Pakhrin (Sukumaya Productions, 2019) (सुकुमाया प्रोडक्सन, २०१९) को सह-निर्देशन पनि गर्नुभएको छ । उहाँको अनुसन्धान विशेष गरी नेपाल र हिमाली क्षेत्रको सङ्गीत, नृत्य, भाषा, आत्मीयता र राजनीतिमा केन्द्रित छ । उहाँ गायन, बाँसुरीवादन र तालवादनमार्फत नेपाली लोकसङ्गीत प्रस्तुत गर्नुहुन्छ ।

लोचन रिजाल ले परियोजनाको श्रव्य तथा दृश्य रेकर्डिङको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ लोचन रिजाल प्रोडक्सनका प्रमुख हुनुहुन्छ । सङ्गीत मानवशास्त्रमा विद्यावारिधि गरेका बहु-वाद्यवादक, गायक-गीतकार रिजाल नेपाली सङ्गीतको अन्वेषण गर्न र विभिन्न सङ्गीत शैलीहरूलाई फ्यूज गर्ने ध्वनि उत्पादनमा नवप्रवर्तनशील दृष्टिकोण ल्याउन नयाँ ध्वनिहरूसँग प्रयोग गर्न उत्साहित हुनुहुन्छ । विभिन्न स्थानीय साङ्गीतिक परम्परा र बाजा बनाउने विधिहरू अध्ययन गर्दै उहाँ नेपालभर वर्षौँ घुम्नुभयो । उहाँले तीन ओटा एल्बमहरू प्रकाशित गर्नुभएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्नुभएको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक रिजाल त्यहाँको सङ्गीत विभाग का प्रमुख हुनुहुन्छ ।

मेसन ब्राउन स्वरलिपिका लागि जिम्मेवार हुनुहुन्छ । उहाँको अनुसन्धान मुख्यतया नेपालमा तिब्बती सङ्गीत र संस्कृतिमा केन्द्रित छ । उहाँको ध्यान खासगरी धार्मिक सङ्गीत र समसामयिक लोकप्रिय स्वरूपहरूबिचको साझा विन्दुका साथै ग्रामीण लोक परम्पराहरूमा छ । उहाँको अनुसन्धानका अन्य रुचिहरूमा जापानी बौद्ध मन्त्र, अमेरिकी र आयरिश स्थानीय भाषाको फिडल (भायोलिन) सङ्गीत, र औद्योगिक क्रान्तिमा भायोलिन निर्माण लगायत छन् । ब्राउनले धार्मिक अध्ययन र सङ्गीतमा नारोपा विश्वविद्यालयबाट तिब्बती भाषामा माइनरसहित डबल बी.ए. गर्नुभएको छ र कोलोराडो विश्वविद्यालय, बोल्डरबाट सङ्गीत मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । स्नातक तहको अध्ययन सुरु गर्नुअघि ब्राउन साइन पेन्टर, सिकर्मी, रेकर्डिङ कलाकार र भ्रमणशील सङ्गीतकारका साथै जेन प्रिस्ट हुनुहुन्थ्यो । उहाँले मौलिक तथा परम्परागत लोक सङ्गीतलाई रेकर्डिङ र प्रस्तुत गर्ने कार्य जारी राख्नुभएको छ ।

हिक्मत खड्का हाम्रो परियोजनाका अनुवादक हुनुहुन्छ । उहाँसँग नेपाली र अङ्ग्रेजी दुवै भाषामा खासगरी कूटनीतिक, प्राज्ञिक र अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा अनुवादक र दोभासेका रूपमा काम गरेको लामो अनुभव छ । उहाँ आफ्नो कामका लागि पटकपटक पुरस्कृत हुनुभएको छ ।

रीता थापा मगर हाम्रो परियोजनाकी सामुदायिक सम्पर्क व्यक्ति हुनुहुन्छ । उहाँ धादिङकी लोक गायिका-गीतकार हुनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । सो प्रतिष्ठानले देशभरका लोक कलाकारका लागि प्रतियोगिता र अन्य अवसरहरू प्रायोजित गर्दछ । उहाँले दुई एकल एल्बम प्रकाशित गर्नुका साथै थुप्रै फुटकर गीत गाउनुभएको छ र अन्य कलाकारका एल्बमहरूमा समेत स्वर दिनुभएको छ । साथै, उहाँले देशविदेशमा पनि प्रस्तुतिहरू दिनुभएको छ । उहाँका म्युजिक भिडियोहरूले मध्यनेपालका पहाडी क्षेत्रहरूमा पाइने विभिन्न प्रकारका सङ्गीत र नृत्य परम्पराप्रति सम्मान प्रकट गर्दै ग्रामीण परिवेशमा परम्परागत विधाहरू देर्शाउँदछन् ।

सुवि शाहका सुपुत्र ध्रुव शाह आफ्ना पिताका सम्पूर्ण सामग्रीका हकदार हुनुहुन्छ । उहाँकै अनुमति र सहयोगमा हामीले यो अनुवादको काम गरिरहेका छौँ । सामुदायिक सम्पर्क व्यक्तिका रूपमा उहाँ धादिङका कलाकारहरूसँग भेटघाटको अवसर पनि जुराउनुहुन्छ । अहिले उहाँ सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । उहाँ आफ्नो युवावयमा व्यावसायिक फुटबल खेलाडी हुनुहुन्थ्यो । घुँडामा लागेको चोटका कारण खेलमैदानमा आफ्ना दिनहरू समाप्त भएपछि उहाँ राइफलरीतिर लाग्नुभयो। रुस, नेपाल र भारतमा तालिम लिएर उहाँ नेपालमा शुटिङका मुख्य प्रशिक्षक बन्नुभयो । उहाँ आफ्नो दशकौँ लामो पेसागत जीवनमा थुप्रै पटक ओलम्पिक खेलहरूमा जानुभयो । आठ वर्षको उमेरसम्म धादिङस्थित आफ्नो पुर्ख्यौली गाउँ ज्यामरुङमा बिताएपछि उहाँ काठमाडौँ बसाइ सर्नुभयो । उहाँ र उहाँको पिताको पेसागत जीवनमा निकै भिन्नता रहेको हुनाले आफ्ना पिताले नेपालको सांस्कृतिक क्षेत्रमा कुन हदसम्म प्रभाव पार्नुभएको रहेछ भन्ने कुरा उहाँ बुझ्दै हुनुहुन्छ ।

रिचर्ड विडेस हाम्रो परियोजनाका वरिष्ठ सल्लाहकार हुनुहुन्छ । दक्षिण एसियाको सङ्गीत र संस्कृतिसँग उहाँको औपचारिक संलग्नता SOAS मा एरिया स्टडिज (दक्षिण एसया) मा स्नातकोत्तर गरेसँगै सुरु भयो । त्यहाँ उहाँले राजेश्वरी दत्तसँग सङ्गीत, वेन्डी डोनिगरसँग धर्मको इतिहासका र जोन ग्रेसँग संस्कृत अध्ययन गर्नुभयो । उहाँले क्याम्ब्रिजको जिजस कलेजका लरेन्स पिकेनको सुपरिवेक्षणमा दक्षिण एसियाको ऐतिहासिक सङ्गीतशास्त्रमा विद्यावारिधि गर्नुभयो । विडेसले निमाई चंद बोरालसँग ध्रुपद गायनको अध्ययन गर्नुभएको थियो र भारतीय सङ्गीतविद्हरूमध्ये उहाँ विशेष गरी प्रेमलता शर्मा, एन. रामनाथन, नज़ीर जयराजभोय र मुकुंद लथबाट प्रेरित हुनुहुन्छ । शिक्षण र अनुसन्धान दुवैमा उहाँको रुचि विश्वव्यापी मानव क्रियाकलापका रूपमा स‍ङ्गीतमाथि केन्द्रित छ, जुन मुख्य गरी ध्वनिमार्फत सञ्चार गरिने एक गैर-मौखिक अभिव्यक्ति प्रणाली हो । विभिन्न साङ्गीतिक प्रणालीहरूले तिनीहरू जुन सन्दर्भमा प्रस्तुत गरिँदै छन् वा विगतमा प्रस्तुत गरिएका थिए, त्यसमा कसरी काम गर्छन् भन्ने कुरा बुझ्ने र तिनीहरूको संरचना तथा अर्थको विश्लेषण गर्न औजारहरू बनाउनेमा विडेसको रुचि छ ।

ne_NPनेपाली
%d bloggers like this: