
सुरेन्द्र विक्रम ‘सुवि’ शाह
सुवि शाह (१९८५-२०६५) नेपाली कलाकार तथा प्रशिक्षक हुनुहुन्थ्यो । उहाँले नेपाली लोक विधाका सङ्गीत, गीत, नाच र नाटकको संरक्षण र प्रवर्द्धनका लागि जीवनभर काम गर्नुभयो । खास गरी पाङ्दुरे वा मारुनी भनी चिनिने नृत्यनाटक परम्परामा सम्मिलित हुने विभिन्न प्रकारका नाचगानहरूमा उहाँको काम केन्द्रित थियो ।
उहाँ यस परम्परामा हुर्कनुभयो र पछि यसैका अग्रणी प्रवर्द्धक बन्नुभयो । सुरुमा उहाँ आफ्नै गाउँमा कलाकार बन्नुभयो, त्यसपछि उहाँले शाही नेपाली सेनामा कलाकारका रूपमा काम गर्नुभयो र सेनाबाट अवकाश प्राप्त गरेको समयदेखि २०६५ सालमा निधन नहुँदासम्म उहाँले प्राथमिक देखि उच्च माध्यमिक विद्यलय तह सम्म प्रशिक्षक तथा सांस्कृतिक नीति परामर्शदाताका रूपमा काम गर्नुभयो । राज्यका सांस्कृतिक नीतिनिर्माताहरूले उहाँसँग परामर्श लिएका र उहाँलाई मानसम्मान गरेका र उहाँले अनेक गीतहरू सङ्कलन गर्नुभएको भए तापनि उहाँका कतिपय कामहरू छरिएर रहेका छन् र उहाँका थुप्रै योगदानहरूको कदर भएको छैन ।
यस परियोजनाले बढीभन्दा बढी दर्शकहरूसमक्ष उहाँको परम्परा पुर्याउने लक्ष्यलाई निरन्तरता दिनेछ । त्यसको लागि उहाँका (प्रकाशित तथा अप्रकाशित) कृतिहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिनेछ र उहाँका पुस्तकहरूमा स्वरलिपिसहित समेटिएका साङ्गीतिक उदाहरणहरूलाई सम्भव भएसम्म कला प्रदर्शनहरूको श्रव्य तथा दृश्य रेकर्डिङ गरी पूर्णता दिइनेछ । ओपन बुक पब्लिसर्सले वर्णनात्मक र श्रव्यदृश्य सामग्रीसहित उहाँका छ ओटा कृतिहरूको अनुवादको प्रकाशन गर्नेछ ।
नेपाली लोक परम्परासम्बन्धी साहित्यमा नौलो प्रयोग गर्दै सुवि शाहका पुस्तकहरूले नेपाली लोक परम्परालाई लोक साहित्य वा सामाजिक संस्कारभन्दा पर पुगेर अनुभूत गरेका छन् । उहाँको अध्ययनले भाका र लयका साङ्गीतिक पक्षलाई समेट्दै त्यसलाई गीतका शब्द, छन्द र नाचको चालसँग जोडेको छ र लोक साहित्य र सामाजिक संस्कारमा त्यसको महत्त्वलाई स्वीकारेको छ ।
उहाँको गहनतम कामले मध्यभागको नेपाल र त्यसमा पनि खास गरी धादिङमा रहेको उहाँको गाउँ ज्यामरुङमा प्रदर्शन गरिने सोरठी, चरित्र, ख्याली, झ्याउरे, चुड्का लगायतका थुप्रै लोकनाचगानका परम्पराहरूलाई बुझ्ने महत्त्वपूर्ण मौका प्रदान गर्दछ ।

बारम्बार सोधिने प्रश्नहरू
यस परियोजनाले के-कस्ता सामग्री उत्पादन गर्नेछ ?
छ भागको यस अनुवाद तथा मल्टिमिडिया परियोजनाले नेपालको मध्यभागमा अवस्थित पहाडी क्षेत्रको स्थानीय साङ्गीतिक परम्परासम्बन्धी सुवि शाहका गीत-संगीत सम्बनधी कृतिको अनुवाद गर्नेछ, नृत्यनाटक प्रदर्शनको भिडियो रेकर्ड गर्नेछ र शाहले विश्लेषण गरेका प्राविधिक साङ्गीतिक उदाहरणहरूको श्रव्य रेकर्डिङ गर्नेछ र ओपन बुक पब्लिसर्स मार्फत ती सबै सामग्रीहरूलाई ओपन एक्सेस अनलाइन मल्टिमिडिया बुक्स, डाउनलोड गर्न सकिने ईबुक्स, र छापा पुस्तकका रूपमा एकसाथ प्रकाशित गर्नेछ । परियोजनाका श्रव्य तथा दृश्य रेकर्डिङहरू हवाई विश्वविद्यालयको मानोआ स्कलरस्पेसमा राखिनेछ ।
सुवि शाहका कृतिहरूको महत्त्व के छ ?
तिनीहरूले नाचगान प्रदर्शनलाई समग्रतामा हेरेका छन्
तिनीहरूले नाचगान प्रदर्शनलाई समग्रतामा हेरेका छन् नेपालमा सङ्गीत, नाच र लोक संस्कृतिका विषयमा धेरैले लेखेका छन् । हामीलाई सुवि शाहको लेखन रोचक लाग्नुको कारण के हो भने उहाँले आफ्नै गाउँका प्रचलनहरूमा आधारित रहेर गीत, बाजा र नाच सबैलाई सँगै समावेश गर्नुभएको छ । अधिकांश लेखकहरू प्रदर्शन संस्कृतिको कुनै एक भागमा केन्द्रित हुन्छन् भने शाहले यी सबै कुराहरू कसरी जोडिएका छन् भन्ने कुराको चित्र प्रस्तुत गर्नुभएको छ ।
तिनीहरू व्यापक रूपमा लागु हुन्छन्
जुन साङ्गीतिक शैली र बाजाहरूका बारेमा सुवि शाहले लेख्नुभएको छ तिनीहरू शताब्दीयौँदेखिको मानिसहरूको आवतजावतका कारण र पछिल्लो समयमा सङ्गीत उद्योगमार्फत नेपालभर र भारतका छिमेकी क्षेत्रहरूमा चिरपरिचित छन् । झ्याउरे, ख्याली र चुड्का नाचगान जस्ता प्रचलित विधा र चरित्र र सोरठी जस्ता नृत्यनाटकहरूलाई कसरी वर्णन गर्ने भन्ने बारेमा थप जान्न चाहने जोकोहीले सुवि शाहको लेखनमा ज्ञानको भण्डार पाउनुहुनेछ । उहाँको लेखन धादिङमा केन्द्रित भएकोले उहाँका कृतिहरूले यी विधाहरूलाई नेपालका अन्य स्थान र दक्षिण एसियाका अन्य क्षेत्रहरूमा कसरी प्रदर्शन गरिन्छ भनेर तुलना गर्ने आधार प्रदान गर्दछन् ।
तिनीहरूले स्थानीय प्रदर्शनकला परम्परालाई बढावा दिन्छन्
सुवि शाहले वर्णन गरेका जस्ता स्थानीय प्रदर्शनकला परम्पराहरू अझ व्यापक रूपमा चिनिनु र बुझिनु पर्दछ र तिनीहरूलाई अन्य परम्परा र तिनको सिद्धान्त र अभ्यासको छलफललाई गरिने सरहकै व्यवहार गरिनु पर्दछ भन्ने कुरामा हामी शाहसँग सहमत छौँ ।
यस परियोजनाको प्रायोजक को हो ?
अमेरिकाको नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिजबाट प्राप्त अनुदान स्कलर्ली एडिसन्स एन्ड ट्रान्सलेसन्स ग्रान्ट मार्फत मानोआस्थित हवाई विश्वविद्यालय
के यो परियोजना कुनै राजनीतिक दलसँग आबद्ध छ ?
छैन ।
अमेरिकामा हवाई विश्वविद्यालय जस्ता सरकारी विश्वविद्यालयहरूलाई र नेशनल एन्डाउमेन्ट फर द ह्युमानिटिज जस्ता सांस्कृतिक अनुदान प्रदान गर्ने निकायहरूलाई कसैको पक्ष लिन कानुनले निषेध गरेको छ ।
नेपालमा हामी हाम्रा कलात्मक र अनुसन्धानका आवश्यकतालाई पुरा गर्नसक्ने व्यक्तिहरूसँग उनीहरूको राजनीतिक आबद्धता जेसुकै भए तापनि काम गर्दछौँ ।
रेकर्डिङका लागि कलाकार कसरी छान्नुहुन्छ ?
यो परियोजना सुवि शाहले धादिङको ज्यामरुङमा केन्द्रित रहेर पहिले गरेको काममा केन्द्रित छ । त्यसैले हाम्रा रेकर्डिङहरूमा प्रस्तुति दिनका लागि कलाकारहरू छनौट गर्दा हामी निम्न कुराहरूलाई महत्त्वदिनेछौँ : १) व्यक्तिगत रूपमा र क्षेत्रीय साङ्गीतिक शैलीका हिसाबले समेत सुवि शाहसँग उनीहरूको निकटता, र २) सुवि शाहले आफ्ना पुस्तकहरूमा समावेश गरेका उदाहरणहरूलाई पुनरुत्पादन गर्ने उनीहरूको कलात्मक क्षमता । त्यस कारण हाम्रो अनुसन्धान ज्यामरुङ र धादिङ आसपासका क्षेत्रहरूमा केन्द्रित छ ।
रेकर्डिङहरू कहिले अनलाइन माध्यममा उपलब्ध हुनेछन् र म तिनीहरूलाई कहाँ फेला पार्नसक्छु ?
सबै सामग्रीहरू डिसेम्बर २०२४ मा अनलाइन माध्यममा प्रकाशित गर्ने तालिकाबद्ध योजना छ । केही रेकर्डिङहरू त्यस समयमा मात्र उपलब्ध हुनेछन् । अन्यलाई परियोजना अगाडि बढ्दै जाँदा सार्वजनिक गर्न सकिनेछ । रेकर्डिङ, प्रतिवेदन, प्रस्तुति र परियोजनासँग सम्बन्धित अन्य कार्यको नयाँ खबरका लागि यो वेबसाइट हेर्दै गर्नुहोला ।